शिक्षण विधि
शिक्षण विधि
शिक्षकले विद्यार्थीहरूलाई कक्षाकोठामा सिकाउने प्रक्रियालाई शिक्षण विधि भनिन्छ । कक्षाकोठामा शिक्षकले विद्यार्थीहरूलाई विभिन्न विधिहरू प्रयोग गरेर सिकाउँछन्। अर्थात हरेक शिक्षकका विद्यार्थीलाई सिकाउने आ-आफ्नो तरिका हुन सक्छ । प्रभावकारी सिकाइको लागि शिक्षण विधि ज्यादै महत्त्वपूर्ण हुन्छ । शिक्षकले सिकाएको विषयवस्तु विद्यार्थीहरूले राम्ररी बुझ्न सक्नु नै प्रभावकारी शिक्षण हो ।
शिक्षक र विद्यार्थीहरूको सक्रियताको आधारमा शिक्षण विधिलाई दुई भागमा बाँड्न सकिन्छ : शिक्षक केन्द्रित र विद्यार्थी केन्द्रित।
शिक्षक केन्द्रित सिकाइ परम्परागत सिकाई विधि हो । यो विधिअनुसार कक्षाकोठामा शिक्षक बढी सक्रिय र हावी हुन्छन् । यो विधिमा ज्ञान अलग्गै हुन्छ भन्ने मान्यता राखिन्छ । साथै शिक्षकलाई ज्ञानको श्रोत अर्थात ज्ञानको भण्डारण मानिन्छ । जुन भण्डारणबाट ज्ञान शिक्षकले एकोहोरो बोलेर हाउभाउसहित व्याख्या गरेर वा कुनै शैक्षिक सामाग्री प्रयोग गरेर विद्यार्थीहरूको मस्तिष्कमा सार्ने प्रयास गर्दछन। शिक्षकले दिएको ज्ञानलाई विद्यार्थीहरूले निस्कृय श्रोता बन्दै सुनेर ग्रहण गर्दछन् । शिक्षकले व्याख्या गरेको कुरा विद्यार्थीहरूले सुन्दै आफ्नो कापीमा सारेर बस्छन् । शिक्षकले पाटीमा लेखेर वा चित्र कोरेर विषय वस्तुको व्याख्या गर्छन् । कहिलेकाहीं शिक्षकले विद्यार्थीलाई प्रश्न गर्छन् र विद्यार्थीले उत्तर भन्छन् । नबुझेको कुरा विद्यार्थीले शिक्षकलाई सोध्छन् । यो विधि भनेको एकतर्फी सवारीजस्तो हो र यसमा शिक्षकले दिने र विद्यार्थीहरूले लिने भन्ने हुन्छ। यो विधिलाई प्रवचन विधि पनि अर्थात अग्रजीम भनिन्छ। यो विधि प्रायः सवै शिक्षण संस्थाहरूमा प्रयोग गरेको पाइन्छ ।
अहिले पनि धेरैजसो शिक्षकहरूले यही विधीलाई अंगालेको पाइन्छ। किनकि यो विधि सजिलो छ। साथै विद्यार्थीहरूलाई नियन्त्रण गर्न पनि सजिलो हुन्छ। यो भनेको एकोहोरो काम हो र यसरी सिकाएपछि शिक्षकले आफ्नो तर्फबाट काम पुरा गरेको महसुस गर्छन।
वास्तवमा यो विधि सवै विद्यार्थीहरूको लागि प्रभावकारी हुँदैन। किनकि एउटा कक्षाकोठामा हुने सवै विद्यार्थीहरूको शैक्षिक स्तर र वौद्धिक क्षमता एउटै किसिमको हुँदैन, फरक फरक हुन्छ। त्यसकारण विभिन्न किसिमका शैक्षिक स्तर र वौद्धिक क्षमता भएका विद्यार्थीहरूलाई समेट्न विद्यार्थी केन्द्रित शिक्षण विधि पनि प्रयोग गर्नु पर्छ। विद्यार्थी केन्द्रित सिकाईमा विशेष गरेर विद्यार्थीहरूले सिक्ने क्रममा उनीहरूलाई सक्रिय सहभागी गराइन्छ र शिक्षकको भूमिका भनेको विभिन्न तरिकाहरू प्रयोग गरी विद्यार्थीहरूलाई सक्रिय बनाउँदै उनीहरूको सिकाइमा सहजीकरण गर्नु हो। विद्यार्थी केन्द्रित सिकाइमा सामान्यतया निम्न विधिहरू प्रयोग गर्न सकिन्छ।
मष्तिस्कमन्थन (Brainstorming)
यो विधि ज्यादै सजिलो छ। शिक्षकद्वारा विद्यार्थीहरूलाई सिकाउनु पर्ने विषयवस्तु सेतो पाटीमा लेखिन्छ। त्यसपछि विद्यार्थीहरूलाई पालैपालो त्यो विषयवस्तु संग सम्बन्धित धारणाहरू भन्न लगाइन्छ र विद्यार्थीहरूले भनेका ती धारणाहरूलाई सिधा रेखा कोर्दै त्यो विषयवस्तुको वरिपरि लेखिन्छ। विद्यार्थीहरूले भन्न छुटाएको धारणाहरू शिक्षाका आफैले थापिदिन्छन। र अन्त्यमा ती सबै धारणाहरूलाई समायोजन गरेर त्यो विषयबस्तुको वारेमा वर्णन, व्याख्या वा विश्लेषण गरिन्छ।
प्रश्नोत्तर (Question-answer)
प्रायजसो शिक्षकहरूले कक्षाकोठामा विद्यार्थीहरूलाई समूहमा प्रश्न सोध्ने गर्छन। यदि कसैले पनि उत्तर नदिएको अवस्थामा शिक्षाका आफैंले उत्तर दिन्छन। तर यसरी समूहमा प्रश्न सोध्नु भन्दा कुनैकुनै विद्यार्थीलाई तोकेर प्रश्न गर्दा राम्रो हुन्छ। उसले भनेको उत्तर ठिक छ कि छैन भनेर अर्को विद्यार्थीलाई सोध्न सकिन्छ। शिक्षकले विद्यार्थीहरूलाई नबुझेको विषयमा प्रश्न सोध्न प्रेरित गर्नु पर्दछ। एउटा विद्यार्थीले सोधेको प्रश्नको उत्तरअर्को विद्यार्थीलाई भन्न लगाउन सकिन्छ। यदि कुनै पनि विद्यार्थीले सही जवाफ दिन नसके शिक्षाक आफैंले उत्तर दिनेछन।
छलफल (Discussion)
विद्यार्थीहरूलाई विषयबस्तुको वारेमा विद्यार्थीहरूबीच छलफल गराउनु सकिन्छ । त्यसरी छलफल गर्दा छलफलमा भाग लिने विद्यार्थीले आफ्नो धारणा पेस गर्छन त्यो धारणाप्रति अरुले चित्त बुझाउन सक्छन वा आफ्नै तर्क पेस गर्न सक्छन।
पठनकार्य (Reading)
सवै विद्यार्थीहरूलाई एकैसाथ नोटबुक वा कितावबाट पढ्न लगाउन सकिन्छ। वा केहि विद्यार्थीहरूलाई पालैपालो नोटबुक वा किताबको पाठको केहि अंश पढ्न लगाउन सकिन्छ। यस्तो किसिमको अभ्यास गराउँदा एकातिर विद्यार्थीलाई पढ्ने बानि बस्न सक्छ भने अर्कोतिर विद्यार्थीले पढ्न सक्छ सक्दैन वेलैमा थाहा पाएर उसलाई सच्याउन सकिन्छ।
कक्षाकार्य (Classwork)
विद्यार्थीहरूलाई विचविचमा कक्षाकार्य दिनु एकदमै जरुरी हुन्छ। कक्षाकार्य गर्दैगर्दा एकातिर विद्यार्थीहरूले त्यो विषय सम्बन्धि अभ्यास गर्छन भने अर्कोतिर उनीहरूले बुझेनबुझेको थाहा पाउन सकिन्छ। यदि उनीहरूले नबुझेको भए त्यो कक्षाकार्यको वारेमा पृष्ठ पोषण दिन सकिन्छ वा त्यो प्रश्नको हल गर्न शिक्षकले सिकाउन सक्छन।
साथीबाट सिक्ने (Peer Learning)
कक्षाकोठामा एउटा बेन्चमा जान्ने र नजान्ने विद्यार्थीहरू मिलाएर राख्नु पर्दछ। त्यसो गर्दा कक्षाकार्य वा सामुहिक कार्य/परियोजना गर्दा जान्नेले नजान्नेलाई सिकाउन लगाउन सकिन्छ। जान्नेले नजान्नेलाई सिकाउँदा दुवैलाई फाइदा हुन्छ। नजान्नेले साथीबाट सिक्न पायो भने जान्नेलाई अझ विस्त्रितारुपमा जान्ने हुने अवसर मिल्नुको साथै दिर्घकालिन सम्झनामा रहन्छा।
परियोजनाकार्य (Project)
विद्यार्थीहरूलाई व्यक्तिगत वा सामुहिक परियोजनाकार्य गर्न दिइन्छ । परियोजनाकार्य भन्नाले एउटा निश्चित विषयवस्तुको वारेमा निश्चित समय लगाएर गरिने कार्य हो। यो कार्य कसरी गर्ने यसको दायरा के हो भन्ने वारेमा शिक्षकले सुरुमै दिशानिर्देश गरेका हुन्छन। परियोजनाकार्यको विषयवस्तु शिक्षकले दिन सक्छन् वा उनीहरूको आफ्नो रोजाइअनुसार पनि गर्न दिइन्छ । परियोजनाकार्य साधारण देखि लिएर विभिन्न उद्देश्य केन्द्रित दिन सकिन्छ। जस्तै : सोधपुछमा आधारित तरिका, रचनात्मक तरिका, सहभागितामूलक तरिका, प्रतिबिम्बित तरिका, एकीकृत तरिका आदि।
गृहकार्य (Homework)
विद्यार्थीहरूलाई गृहकार्य दिनु र उनीहरूले बुझाएको गृहकार्य जाँच्नु नियमित कार्य हो। गृहकार्य कति दिने भनेर शिक्षकले विचार पुर्याउनु पर्छ। धेरै महत्वपूर्ण प्रश्न लाई समेटेर विद्यार्थीले गर्न भ्याउने ठिक्क संख्यामा गृहकार्य प्रश्न दिनुपर्छ। धेरै प्रश्नहरू दिंदा विद्यार्थीलाई गृहकार्य गर्न समय नहुन सक्छ भने शिक्षकलाई पनि त्यो गृहकार्य जाँच्न धेरै समय लाग्छ।
शिक्षाका केन्द्रित विधिअनुसार शिक्षकले प्रवचन गरेर व्याख्या विश्लेषण गरेर सिकाएको विषय वस्तु सवै विद्यार्थीको दिमागमा नछिर्न सक्छ वा छिरेपनि लामो समय नटिक्न सक्छ। लामो समयसम्म टिक्नको लागि त्यो विषयवस्तुलाई घोकेर कण्ठ पार्नुपर्ने हुन्छ जुन कार्य गर्न धेरै विद्यार्थीहरूलाई सहज लाग्दैन । त्यसकारण शिक्षक केन्द्रित सिकाइको साथसाथै विद्यार्थी केन्द्रित सिकाइ गर्दा एकातिर विभिन्न शैक्षिक तथा वौद्धिक स्तर भएका विद्यार्थीहरूलाई सिकाईमा समेटिन्छ भने अर्कोतिर एकोहोरो दिक्कलाग्दो शिक्षकको प्रवचन सुनिरहनु भन्दा चाखलाग्दोढंगले सिक्छन। त्यस्तै शिक्षकलाई बोलिरहनु पर्ने भार कम हुन्छा। अव शिक्षकले कडा परिश्रम गर्ने होइन विद्यार्थीहरूलाई गर्न लगाउने हो। शिक्षकको भूमिका भनेको विद्यार्थीहरूलाई सिकाईमा धेरै भन्दा धेरै सहभागिता गराउँदै तिक्ष्ण विवेकपूर्ण कार्य गर्ने हो।विषयवस्तुको सान्दर्भिकतालाई हेरेर शिक्षक केन्द्रित र विद्यार्थी केन्द्रित सिकाईको सन्तुलनले नै प्रभावकारी शिक्षण कार्य हुन्छ।
Comments
Post a Comment