विद्यार्थीहरूलाई कसरी उत्प्रेरित गर्न सकिन्छ ?

 विद्यार्थीहरूलाई कसरी उत्प्रेरित गर्न सकिन्छ ?

कुनैपनि शिक्षकको लागि एउटा कक्षाकोठामा भएका सवै विद्यार्थीहरूलाई समानरुपले सिकाउनु ज्यादै चुनौतिपूर्ण कार्य हो । किनकि सवै विद्यार्थीहरूको वौद्धिक क्षमता एकै किसिमको हुँदैन। साथै उनीहरूको सिकाइप्रति रुचि पनि एकैनासको नहुन सक्छ । कसैको पढाइमा बढि रुचि हुन्छ भने कसैको कम हुन सक्छ।  यसको प्रमुख कारण भनेको उनीहरूका फरकफरक पृष्ठभूमीहरू जस्तै : व्यक्तिगत गुण, शैक्षिक स्तर, पारिवारिक अवस्था आदिले गर्दा हुनसक्छ।  पढाइमा कम रुचि भएका विद्यार्थीहरूलाई विभिन्न उपायहरू अवलम्बन गरेर उत्प्रेरित गर्न सकिन्छ। विद्यार्थीहरूको कक्षागत तह, हरेक विद्यार्थीको आआफ्नो स्वाभाव तथा अवस्था र विषयवस्तुलाई मध्यनजर गर्दै उनीहरूलाई सिकाइप्रति लगनशील बन्न निम्न उपायहरू प्रयोग गर्न सकिन्छ। 

१. सम्बन्ध (Relationship)

प्रभावकारी शिक्षणका लागि शिक्षक र विद्यार्थीहरूका बीच सुमधुर सम्बन्ध हुनुपर्दछ। उनीहरूका बीच जति राम्रो सम्बन्ध भयो त्यति विद्यार्थीहरूले आफ्ना शिक्षकले सिकाएको विषयलाई ध्यान दिएर सुन्छन र बुझ्न खोज्छन।  यदि सम्बन्ध राम्रो भएन भने शिक्षकले भनेका कुरा विद्यार्थीले ध्यान नदिन सक्छ। सम्बन्ध राम्रो बनाउनका लागि शिक्षकको भूमिका अहम हुन्छ। किनभने बिद्यार्थी भनेको भर्खरका वालवालिका भएकाले उनीहरू अबुझ मूर्ख हुन सक्छन भने शिक्षक परिपक्क व्यक्ति भएकोले विद्यार्थीले जस्तै व्यवहार गर्न मिल्दैन।  शिक्षक आफै सहनशील हुँदै विद्यार्थीलाई सम्झाईबुझाइ आफ्नो वसमा लिने कोसिस गरिरहनु पर्छ।   

२ विद्यार्थीलाई बुझ्नु (Know Your Students) 

शिक्षकलाई आफ्ना हरेक विद्यार्थीको वारेमा थाहा हुनु पर्दछ।  उनीहरूको शैक्षिक, व्यक्तिगत तथा पारिवारिक अवस्था वारेमा थाहा भयो भने ती विद्यार्थीहरूलाई कस्तो व्यवहार गर्दा वा कसरी सिकाउँदा उनीहरू सिकाइप्रति आकर्षित हुन्छन भन्ने बुझ्न सजिलो हुन्छ।  शिक्षकले उनीहरूको मनोभावना, उनीहरूलाई के मन पर्छ वा के कुरामा रुचि छ, कसरी सिकाउँदा बुझ्न सजिलो हुन्छ आदिवारेमा थाहा पाउनु पर्छ र सोहीअनुसार व्यवहार गर्नुपर्ने हुन्छ । कुनै विद्यार्थी पढाइमा कमजोर छ भने उसलाई अलि बढि वा फाल्टो समय दिएर पनि सिकाउनुपर्ने हुन्छ। 

३ उत्साहित (Enthusiastic)

विद्यार्थीहरूलाई पढाइप्रति उत्साहित बनाउन पहिला शिक्षक आफै उत्साहित हुन जरूरी छ। शिक्षक भनेको विद्यार्थीहरूका लागि रोल मोडल हुन्।  शिक्षकले जसरी आफूलाई प्रस्तुत गर्छन त्यसरी नै विद्यार्थीहरूले नक्कल गर्दछन । विशेष गरेर शिक्षकले आफ्नो पेसाप्रति गर्व गर्नुपर्छ, आफूले पढाउने विषय वा विषयवस्तुलाई उच्च महत्व दिंदै रोचक बनाउनु पर्दछ।  शिक्षकले लगाउने पहिरन, उसको हाउभाउ तथा ओजपूर्ण उर्जाशील अभिव्यक्तिबाट नै शिक्षकको उत्साहिपन झल्किन्छ।  

४ प्रसंशा तथा पुरस्कार (Reward)

पुरस्कृत हुनु भनेको मानिसलाई गरिने सम्मान मात्र नभएर सकारात्मक उर्जा दिने साधन पनि हो।  मानिसहरू पुरस्कार पाउँदा दङ्ग पर्छन। साथै पुरस्कारले उनीहरूलाई अझ राम्रो गर्न हौसला प्रदान गर्छ। त्यस्तै विद्यार्थीहरूले असल काम गरेवापत पुरस्कृत गर्दा उनीहरूलाई हौसला मिल्छ। अनुसाशन, वानी व्यहोरा, गृहकार्य, परीक्षा आदिमा राम्रो मूल्याङ्कन भएका विद्यार्थीहरूलाई पुरस्कृत गरिन्छ । पुरस्कार भनेको भौतिक वस्तु मात्र नभएर उनीहरूलाई शव्दबाट पनि पुरस्कृत वा प्रसंशा गर्न सकिन्छ।  जस्तै : उनीहरूलाई दिएको कुनै कार्य पूरा ठिक नभएपनि उनीहरूले गरेको प्रयासलाई आहा ! क्या राम्रो ! Good Job! भन्दै प्रसंशा गर्न सकिन्छ।  जसले गर्दा विद्यार्थीहरूलाई हौसला मिल्छ र अझ मिहिनेत गर्दछन।    

५ नकारात्मक सुद्रिढिकरणको प्रयोग गर्नु (Use Negative Reinforcement)

विद्यार्थीहरूलाई कहिलेकाहीं नकारात्मक सुद्रिढिकरणको प्रयोगले पनि उत्प्रेरित गर्न सकिन्छ।  नकारात्मक सुद्रिढिकरणको प्रयोग भनेको विद्यार्थीहरूले पाइरहेको सुबिधालाई खोस्नु वा रोकिदिनु हो। उदाहरणको लागि यदि कुनै विद्यार्थीले गृहकार्य बुझाएन भने त्यो विद्यार्थीलाई यस्तो भन्न सकिन्छ : "तिमीले गृहकार्य बुझाएनौ। अव तिमी दिउसोको टिफिन समयमा बाहिर जान पाउँदैनौ, कक्षाकोठा भित्रै बसेर गृहकार्य गर्नु पर्दछ।"  यसरी गृहकार्य नबुझाउने विद्यार्थीहरूलाई यो नियम लगाइदियो भने अर्को दिनबाट गृहकार्य बुझाउन प्रेरित हुन्छन ।     

६. लक्ष्य निर्धारण (Goal setting)

विद्यार्थीहरूलाई उनीहरूले वास्तविक र प्राप्तगर्न सक्नेखालको लक्ष्य निर्धारण गरिदिदा पनि सिकाइमा रुचि बढ्न सक्छ । विभिन्न तरिकाले उनीहरूको लक्ष्य निर्धारण गराउन सकिन्छ।  जस्तै : साना कक्षाका वालवालिकालाई अव तिमीहरूले यति पढी सकेपछि वा यति अभ्यास गरिसकेपछि खेल्न पाउँछौ भनेर लक्ष्य तोकिदियो भने उनीहरू त्यो लक्ष्यअनुसार छिटोछिटो आफ्नो काम पुरा गर्न चाहन्छन। त्यस्तै ५/६ कक्षा भन्दा माथिका विद्यार्थीहरूलाई अव आउने त्रैमाशिक वा वार्षिक परिक्षामा कुन ग्रेड वा कति प्रतिशत मार्क ल्याउने भनेर उनीहरू आफैलाई लक्ष्य निर्धारण गर्न लगाउन सकिन्छ। आठ कक्षा भन्दा माथिका विद्यार्थीहरूलाई तिमी भविष्यमा के बन्न चाहन्छौ भन्ने प्रश्न गरेर उनीहरूको लक्ष्य निर्धारण गर्न लगाउन सकिन्छ । लक्ष्य निर्धारण गरिसके पछि उनीहरूले आफ्नो लक्ष्य प्राप्तिको लागि सोअनुसार कार्य गरेनगरेको निगरानी गरिरहनु पर्छ। साथै उनीहरूले निर्धारण गरेको लक्ष्य प्राप्त गरेको अवसरमा उत्सव मनाउँदा विद्यार्थीहरू सिकाइप्रति झन् गम्भीर बन्छन।  

७. शिक्षण विधि परिवर्तन गर्नु (Change teaching method)

सँधैभरि एउटै विधि मात्र प्रयोग गरेर विद्यार्थीहरूलाई सिकाउँदा उनीहरूलाई दिक्क लाग्न सक्छ र पढाइप्रति रुचि नहुन सक्छ। त्यसकारण वेला वेलामा शिक्षण विधि परिवर्तन गर्नुपर्ने हुन्छ। नयाँ विधि प्रयोग गर्दा विद्यार्थीहरूले सिकाइ प्रति चाख लिन सक्छन। यसको लागि शिक्षकले नयाँनयाँ शिक्षण विधिहरूका वारेमा जानकारी राख्नु पर्ने हुन्छ।  

८. विषयवस्तुलाई विद्यार्थीहरूको दैनिक जीवन संग जोड्नु (Relate the subject matter to their daily life)

शिक्षकले कक्षाकोठामा पढाउँदा विषयवस्तुलाई विद्यार्थीहरूको दैनिक जीवनमा प्रयोग भैरहेको वा उनीहरूको वरिपरि भएको वस्तु वा रुचिअनुसारको उदाहरणसित जोड्न सक्यो भने उनीहरूलाई त्यो विषयवस्तु बुझ्न सजिलो हुन्छ र उनीहरू सिकाइप्रति बढी आकर्षित हुन्छन।  उदाहरणको लागि विज्ञान विषयमा विरुवाको वारेमा पढाउँदा एउटा सानो विरुवालाई नै उखेलेर कक्षाकोठामा लगेर त्यो विरुवालाई देखाउंदै त्यसको विभिन्न भागहरू र तिनका कामहरूका वारेमा बताउन सकिन्छ।    

९. सिकाईको वातावरण परिवर्तन गर्नु (Change the learning environment)

सँधैभरि एकैनासको वातावरणमा राखेर सिकाउँदा विद्यार्थीहरूलाई दिक्क लाग्न सक्छ।  त्यसकारण  कहिलेकाहीं कक्षाको वातावरण परिवर्तन गर्दा पनि विद्यार्थीहरूलाई उत्प्रेरित गर्न सकिन्छ। जस्तै : कक्षाकोठामा भएका डेस्कबेन्च पुन:व्यवस्थित गरेर, कक्षाकोठा भन्दा बाहिर चौरमा वा फिल्ड भिजिटमा लगेर सिकाउन सकिन्छ। 

१०. सिकाईको वातावरणलाई मैत्रीपूर्ण र सकारात्मक बनाउनु (Create positive and friendly learning environment) 

सकारात्मक र मैत्रीपूर्ण वातावरणले विद्यार्थीहरू आफूलाई सजिलो र सुरक्षित भएको महसुस गर्छन । जसले गर्दा उनीहरूले कसैको डर नमानिकन ढुक्कसित सिक्ने हौसला प्राप्त गरेको अनुभूति गर्छन ।  

११. अभिभावकको सहायता लिनु (Take parents' help)

साना साना वालवालिकाहरूलाई उनीहरूका वावा आमाको सहकार्यमा सिकाउँदा पनि रुचि बढ्न सक्छ। किनकि यसो गर्दा एकातिर वच्चाले अभिभावकको मायालु वातावरण पाउँछ भने अर्कोतिर उसले आफुलाई सुरक्षित भएको र महत्व दिएको ठान्दछ। शिक्षक र अभिभावकको नियमित सम्पर्कले विद्यार्थीले घरमा  गरेको व्यवहार शिक्षकलाई थाहा हुन्छ भने विद्यालयमा गरेको व्यवहार अभिभावकलाई थाहा हुन्छ।  र यसरी दुवै पक्षको प्रत्यक्ष सहयोग र निगरानीले विद्यार्थीहरू सिकाइप्रति अभिप्रेरित हुन्छन।        

विद्यार्थीहरूलाई पढाइप्रति रुचि जगाउन माथि उल्लिखित उपायहरू वाहेक शिक्षकले आफ्नो अध्ययन र अनुभवको आधारमा अन्य विधिहरु पनि प्रयोग गर्न सक्छन। जस्तोसुकै अल्छी तथा कमजोर विद्यार्थीलाई पनि उत्प्रेरित गर्दै उसलाई पढाइप्रति हरसम्भव जागरुक गराउने प्रयत्न गर्नु एउटा असल शिक्षकको कर्तब्य हो ।   

Comments

Popular posts from this blog

शिक्षण विधि

असल शिक्षकमा हुनुपर्ने गुणहरू