विद्यालय मात्र पाठशाला होइन

 डा. राजकुमार राई


विद्यालय मात्र पाठशाला होइन

एक जना शिक्षक मित्रले आफ्नो फेसबुक वालमा निम्न कथा पोस्ट गरेको पाएँ । कथा यस प्रकार : यमराजको सभामा एकजना बेइमान वकिल, भ्रष्ट कर्मचारी, घुसाहा ठेकेदार, ठगाहा व्यापारी र एकजना निरिह शिक्षक भेला भएछन् । चित्रगुप्तले प्रत्येकले मत्र्यलोकमा गरेका कर्महरूको फेहरिस्त सुनाएछन् । यमराजले निरिह शिक्षकलाई नर्क र बाँकी सबैलाई स्वर्ग पठाउने निर्णय सुनाएछन् । यो सुनेर चकित भएका चित्रगुप्ताले सोधेछन् “महाराज निर्णय उल्टो भयो कि ?“ यमराजले सोधेछन् “के यी सबै अनपढ थिए र ? होइनन् भने यिनलाई शिक्षा दिने को हो ?“ 

उक्त पोष्टको कथाअनुसार समाजमा हुने विभिन्न किसिमका बेइमानहरू उत्पादन हुनुमा शिक्षकको कमजारी हो भन्ने आसयप्रति सहमति जनाउंदै धेरैले आ–आफ्ना प्रतिक्रिया दिएको पाएँ । समाजमा हुने गरेका विकृति विसंगतिको दोष शिक्षकतिर तेस्र्याउन खोजिएको छ । विद्यालयमा शिक्षकले राम्रोसित नैतिक शिक्षा दिन सकेको भए समाजमा यस्ता किसिम बदमास मानिसहरू हुने थिएनन् भन्ने कथाले बुझाउन खोजेको पाइन्छ । मेरो आफ्नो पनि शिक्षण पेसाप्रति केही अनुभव र रुचि भएकोले उक्त फेसबुक पोस्टलाई आधार मानेर यो आलेख लेख्ने प्रयास गरेको छु । 

वास्तवमा हामी सबैले विद्यालयलाई मात्र पाठशाला हो भन्ने बुझ्छौं । तर विद्यालयसंगै घर–परिवार र समाज पनि अर्को ठुलो पाठशाला हो भन्ने बुझ्न आवश्यक छ । पाठशाला भनेको त्यो ठाउँ हो वा त्यो घर हो जहाँबाट मानिसले ज्ञान, बुद्धि र सिप हासिल गर्दछन् । विद्यार्थीहरूले विद्यालयबाट विषयगत औपचारिक शिक्षा हासिल गर्छन् भने घर–परिवार र समाजबाट अनौपचारिक शिक्षा हासिल गर्छन् । 

बालबालिकाहरू ३/४ वर्ष पुगे पछि विद्यालयमा भर्ना गरिन्छ । त्यो ३/४ वर्षको उमेर भइन्जेलसम्ममा उनीहरूले घर–परिवारबाट धेरै कुरा सिकिसकेका हुन्छन् । त्यसैले विद्यार्थीहरूका लागि घर–परिवारलाई पहिलो पाठशाला हो भनिन्छ । विद्यार्थीहरू विद्यालयमा शिक्षकसंग दिनमा ७÷८ घण्टा मात्र हुन्छन् भने बाँकी समय उनीहरू घरमा र समाजसित हुन्छन् । 

विद्यार्थीहरूले विद्यालयमा विभिन्न विषयहरूमा विषयगत ज्ञान र सिप सिक्दछन् । विद्यालयमा उनीहरूले व्यावहारिक ज्ञानभन्दा धेरैजसो सैद्धान्तिक ज्ञान सिक्दछन् । उनीहरूले परिवार, छरछिमेकी, साथीभाई र समाजबाट व्यवहारिक ज्ञान सिक्दछन् । मानिसले पढेर, सुनेर, देखेर, गरेर र भोगेर ज्ञान, बुद्धि र सिप प्रात गर्दछन् । बुद्धि सकारात्मक र नकारात्मक दुवै हुन्छ । सकारात्मक बुद्धि असल काममा प्रयोग हुन्छ भने नकारात्मक बुद्धि खराब, अनैतिक काममा प्रयोग हुन्छ । विद्यार्थीहरू असल नागरिक बनून, अनैतिक नबनून भनेर विद्यालयमा नैतिक शिक्षा पढाइन्छ । 

कसै–कसैले घर परिवार वा साथीभाइबाट राम्रा नराम्रा बानी व्यहोरा सिकिसकेका वा सिकिरहेका हुन्छन् । कतिपय बच्चाहरूले घर परिवार वा साथीभाईबाट फोहोरी कुरा बोल्न सिकेका हुन्छन् । कसै–कसैले चोर्न, ढाँटन सिकिसकेका हुन्छन । त्यस्तै चुरोट खैनी आदि सेवन गर्न सिकेका हुन्छन् । यी खराब बानीहरू साथीका माध्यमबाट छिटो सिक्छन् । यस्ता खराब बानीव्यहोरा विद्यालयमा बन्देज हुन्छ तापनि उनीहरूले लुकी लुकी अभ्यास गरिरहेका हुन्छन् । जसलाई रोकथाम गर्न घर परिवार र समाजले ख्याल गर्नु पर्ने हुन्छ । 

अरू जागिरमा भन्दा शिक्षण पेशामा बढी जिम्मेवारी हुन्छ । अरू जागिरमा करारनामामा उल्लेख भएका कामको विवरणअनुसार कर्तब्य गरे पुग्छ । तर शिक्षण पेशामा करारनामामा उल्लेख भएअनुसार विद्यार्थीलाई सिकाएर, परिक्षा लिएर मात्र हुँदैन । त्यो देखि बाहेक उसको नैतिक र सामाजिक जिम्मेवारी पनि उत्तिकै छ । शिक्षक हुने मानिस बढो नैतिकवान हुनुपर्छ । उनीहरूले अरूलाई ज्ञान अर्ति वुद्धि दिने हुनाले शिक्षकले झुटो बोल्न र नराम्रा व्यवहार गर्न असोभनीय हुन्छ । शिक्षकले जथाभावी धुम्रपान, मध्यपान गरेको समाजले राम्रो मान्दैन । 

अरू पेशाका जागिरेहरूलाई आफ्नो कार्यालयको समय पछि यी कार्य गर्न छुट छ । शिक्षकको आचरण विचरण असल हुनु पर्छ । कुनै कुनै विद्यार्थी पढ्न अल्छि गर्छन्, विद्यालयमा बदमासी गर्छन् । शिक्षकले ती विद्यार्थीहरूलाई पढाउँदिन भन्न मिल्दैन । ती विद्यार्थीहरूलाई पनि असल विद्यार्थी बनाउन हरसम्भव प्रयास गर्नु पर्छ । 

विद्यार्थीहरूले विद्यालयबाट चारवटा क्षेत्रमा आफ्नो व्यक्तित्व विकास गर्छन् । पहिलो, शिक्षकले पढाएको सुनेर, बुझेर र पाठ्यपुस्तक पढेर ज्ञान प्राप्त गर्छन् । दोश्रो, उनीहरूले विभिन्न किसिमका सिपहरू (जस्तै : अन्तरव्यक्तिगत संचार कला, संगीत र नृत्य कला, कम्प्युटर चलाउने सिप, लेखन कला आदि) सिक्दछन् । तेश्रो, विद्यार्थीहरूले विद्यालयबाट आफूमा असल धारणाको विकास गर्छन् । आफ्नो जिम्मेवारी लगायत हरेक विषयलाई सकारात्मक दृष्टिकोणले हेर्ने, बुझ्ने र कसैप्रति पनि नकारात्मक सोच नराख्ने प्रवृत्तिको विकास गर्छन् । चौथो, विद्यार्थीहरूले विद्यालयबाट जिन्दगीभर सिकिरहने बानिको विकास गर्छन् । 

विद्यालयमा विषयगत ज्ञानबाहेक विद्यार्थीहरूलाई अनुशासन र असल बानी ब्यहोराका बारेमा पनि सिकाइन्छ । झुटो बोल्न,  गलत कार्य गर्न, फट्याइँ गर्न सिकाइँदैन । शिक्षकले कहिल्यै पनि विद्यार्थीहरूलाई बदमास बन्न सिकाउँदैनन् । नराम्रा काम गरे भने त्यसबाट नराम्रो परिणाम भोग्नु पर्छ भनेर बताउँछन् । यस्ता विषयहरू असल विद्यार्थीहरूले आत्मसात गर्छन् भने केही खराब प्रवृत्तिका विद्यार्थीहरूले नलिन पनि सक्छन् । विद्यार्थीहरूलाई सही बाटोमा हिँडाउन विद्यालयको ठुलो जिम्मेवारी हुन्छ र संगसंगै घर परिवार र समाजको पनि उत्तिकै जिम्मेवारी हुन्छ ।  

कतिपय समाजले उत्पादन गरेका खराब मानिस हुन्छन् जो विद्यालयको नियन्त्रण भन्दा बाहिर हुन्छ । नैतिकता नभएका खराब प्रवृत्तिका मानिसलाई समाजले बहिष्कार गर्नु पर्ने हो तर समाजले नै त्यस्ता अनैतिक व्यक्तिहरूलाई स्वीकार गरे पछि विद्यालयमा शिक्षकले नैतिक शिक्षा पढाएर मात्र हुँदैन । 


Comments

Popular posts from this blog

शिक्षण विधि

असल शिक्षकमा हुनुपर्ने गुणहरू

विद्यार्थीहरूलाई कसरी उत्प्रेरित गर्न सकिन्छ ?