पाठ योजना
पाठ योजना
कुनै पनि कार्य गर्नु अधि उचित योजना बनाउनु अति आवश्यक छ। किनकि उचित योजना बनाउनाले त्यो कार्य सफलतापूर्वक सम्पन्न गर्न मद्दत गर्दछ। त्यस्तै शिक्षकले पनि कक्षाकोठामा प्रवेश गर्नु अघि उचित पाठ योजना बनाउनु अति आवश्यक छ। पाठयोजनाको प्रयोगले शिक्षकलाई सवै विद्यार्थीहरूले बुझ्ने गरी प्रभावकारी ढंगले शिक्षण कार्य गर्न सहयोग गर्दछ। तर प्राय:जसो शिक्षकहरूले पाठ योजना बनाएर अध्यापन गर्ने अभ्यास गरेको पाइदैन। उनीहरू पाठयोजना आफ्नो दिमाग मै भएको महसुस गर्छन। अझ कतिपय शिक्षकहरू कक्षा कोठामा गएर विद्यार्थीहरूलाई अघिल्लो कक्षामा कहाँसम्म पढेका थियौं भनेर सोध्छन र एउटा विद्यार्थीको पुस्तक मागेर त्यहाँबाट पढ्दै व्याख्या विश्लेषण गर्दै पढाउने गरेको पाइन्छ। यो भनेको ज्यादै कमजोर शिक्षण कार्य हो। यसरी सिकाउँदा एकातिर विद्यार्थीहरूले त्यति चाख दिएर सुन्दैनन् भने अर्कोतिर शिक्षकले सिकाएको विषय बस्तु वुझ्दैनन। त्यसकारण शिक्षकले पाठयोजना बनाउनु अति जरुरी छ।
पाठ योजना बनाउँदा निम्न ढांचा प्रयोग गर्न सकिन्छ :
१ शिर्षक वा विषयवस्तु
कक्षामा शिक्षण कार्य गर्दा पहिला कुन अध्यायको शिर्षक वा विषयवस्तुको वारेमा पढाउने हो, त्यो वारे शिक्षकलाई जानकारी हुनुपर्दछ । यदि शिक्षकलाई आफुले पढाउने शिर्षक नै थाहा नहुने हो भने त्यो शिक्षकले प्रभावकारी शिक्षण कार्य गर्न सक्दैन।
२ सिकाई उपलब्धिहरू
शिक्षकले कुनै पनि पाठ वा शिक्षण कार्य पूरा गरेपछि विद्यार्थीहरूले के के गर्न सक्नेछन भन्ने कथनहरूलाई सिकाइ उपलव्धि भनिन्छ। कुनै पनि पाठ सुरु गर्नु अघि उक्त पाठ पुरा गरिसकेपछि प्राप्त हुन सक्ने सिकाई उपलव्धिहरूका वारेमा शिक्षकले विद्यार्थीहरूलाई बताउनु पर्दछ। सिकाई उपलव्धि लेख्दा विशेष गरेर निम्न तीन विषयमा ध्यान दिनुपर्दछ। सिकाई उपलव्धिहरू वास्तविक, अवलोकन गर्न सकिने र प्राप्त गर्न सकिने हुनुपर्छ।
३ सिकाउने विधि
शिक्षकले विषयवस्तु र आफ्नो अनुभवअनुसार विभिन्न विधिहरू प्रयोग गरेर कक्षाकोठामा सिकाउँछन् । शिक्षण विधीहरूलाई दुई भागमा बाँड्न सकिन्छ : शिक्षक केन्द्रित र विद्यार्थी केन्द्रित। शिक्षक केन्द्रित विधिमा शिक्षक सक्रिय हुन्छन भने विद्यार्थीहरू निस्क्रिय सिकारु मात्र हुन्छन। उदहरणको लागि प्रवचन विधि। विद्यार्थी केन्द्रित विधिमा विद्यार्थीहरूलाई सक्रिय सहभागी गराइन्छ। जस्तै : प्रश्नोत्तर, छलफल, कक्षाकार्य आदिद्वारा उनीहरूलाई सिकाइमा सक्रिय सहभागी गराउन सकिन्छ ।
४ शैक्षिक सामाग्री
प्रभावकारी सिकाइको लागि शैक्षिक सामाग्रीको प्रयोग ज्यादै नै महत्वपूर्ण हुन्छ। किनकि शैक्षिक सामाग्रीको प्रयोगले शिक्षकले सिकाउन खोजेको धारणा विद्यार्थीहरूले आँखाले हेर्न पाउँछन् अर्थात र्अमुर्त धारणालाई मुर्तरुप दिन्छ जसले गर्दा विद्यार्थीहरूलाई बुझ्न सजिलो हुन्छ र साथै यसरी सिकेको विषयवस्तु वा धारणा सुनेर मात्र सिकेको भन्दा लामो समयसम्म दिमागमा वस्दछ।
५ विद्यार्थीहरूद्वारा गरिने सिकाइका गतिविधिहरू
विद्यार्थीहरूलाई सक्रिय सहभागी गराउनु अति आवश्यक छ। सक्रिय सहभागिताले मात्र विद्यार्थीहरूले स्पष्ट भएर सिक्न सक्छन र साथै सिकेको ज्ञान पनि लामो समयसम्म टिक्छ। विभिन्न गतिविधिहरूद्वारा जस्तै : कक्षा कार्य दिएर, प्रश्नोत्तर गराएर, व्यक्तिगत वा सामुहिक परियोजना गराएर, किताब वा नोटबुक पढ्न लगाएर, साथीले साथीलाई सिकाउनु लगाएर विद्यार्थीहरूलाई सक्रिय सहभागी गराउन सकिन्छ।
६ विद्यार्थीहरूले बुझेनबुझेको जाँच्ने विधिहरू
कक्षामा शिक्षण कार्य गरिसकेपछि उनीहरूले बुझेनबुझेको जाँच्नु पर्दछ। विद्यार्थीहरूले बुझेनाबुझेको नजाँचिकन मेरो काम पढाइदिने हो भनेर कक्षा त्यत्तिकै छोड्नु भनेको शिक्षकले आफ्नो औपचारिकता मात्र पुरा गरेको ठहर्छ। वास्तवमा दिनेले कति दियो भन्दा पनि लिनेले कति लिन सक्यो भन्ने महत्वपूर्ण हुन्छ । विद्यार्थीलाई प्रश्न गरेर, कक्षा कार्य गर्न दिएर वा छोटो परीक्षा दिएर विद्यार्थीहरूले बुझेनबुझेको थाहा पाउन सकिन्छ।
७ गृहकार्य
शिक्षकले आफ्ना विद्यार्थीहरूलाई नियमित रुपमा गृहकार्य दिनुपर्दछा। वरु गृहकार्य दिंदा कति दिने भनेर ध्यान पुर्याउनु पर्छ। गृहकार्य दिंदा विद्यार्थीलाई पनि बोझिलो नहोस र शिक्षकले पनि समयमै जाँचेर फिर्ता गर्न गाह्रो नहोस। विद्यार्थीहरूले गृहकार्य पुरा गरेर बुझाएपछि शिक्षकले पनि पृष्ठपोषणसहित उक्त गृहकार्य जाँचेर फ़र्काउनुपर्छ। यसरी विद्यार्थीहरूले गृहकार्य गर्दा एकातिर सिकाइमा अभ्यास हुन्छ भने अर्कोतिर उनीहरूको अध्ययन गर्ने बानिको विकास गराउँछ।
Comments
Post a Comment